अपेक्षा मनको.......

हृदयाकाशमा मडारिरहेछ,

सम्बन्धका कालो बादलहरू,

ठोकिदैँ, गर्जदैँ, चम्कदैँ,

खै कहाँ गएर बर्सिएला,

मायाका अश्रुवेदनाहरू,

झिनो आशा सहित,

दिनहरू जोडिदैँ छन्,

मायाका शब्दहरू,

मलाई थाहै नदिई,

पुतली बनेर उड्दै छन् ।

प्रश्नहरू यथावत्,

मन भित्रै गुम्सिएका,

सानो मन ठुलो आशाहरू,

ठुलै आकाशमा,

थाहा छैन डरको पाहुना,

त्यँहा केका लागि छिर्यो,

बादलुलाई पछ्‌याउँदै,

लुकामारी खेल्दै,

हाँस्दै, खेल्दै, रमाउँदै,

मायाका महलहरू ठड्‌याउँदै,

उफ् कति आशा राख्नु,

खै कतै बादलहरूमै,

हराई जाने पो हुन् कि?

 

हजारौँ रूपहरू,

यी नयनहरूले,

सयौँ मनहरु देख्यो,

थाहा छैन सुटुक्कै,

पानीको बहावसँगै,

जुर्मुराएका विरुवाहरू जस्तै,

सूर्यलाई सूर्यमुखीले पछ्याएजस्तै,

ति बोलिहरूमा यो मन,

फस्यो र फस्यो,

फस्यो अनि फस्यो,

उम्कने बाटो पाएन ।

आँखा चिम्लदा पनि,

आँखा उघार्दा पनि,

यादहरू ताजा अनि ताजा,

तर डरहरू पुरानै,

कतै गुमाउने पो हुँ कि?

 

यसरी नै बढ्दैछ निकटता,

मानौँकी सागरले,

नदीलाई बोलाएजस्तो,

मानौँकी कोइलीले,

बसन्त डाकेजस्तो,

प्राण र पानिजस्तो,

नङ र मासुजस्तो,

घनिष्ठ बन्ला र सम्बन्ध ?

कतै टुट्ने/फुट्ने त हैन,

चर्किने त हैन???

पानीबिहिन माटोको डोरीजस्तो,

दोषी भावनाहरू,

झल्किने पो हुन् कि?

 

गल्ती हो कि के हो?

कतै आफ्ना सपनाहरु,

ध्वस्त पारिदिने त हैन नि?

उफ्! अचम्म छ ।

रंग न स्वादको,

पानी जस्तो,

प्राण धानिदिने,

बस् तिर्खा मेटाइदिने,

गन्तव्य बिहिन,

पानी जस्तो,

कहाँ टुङ्गिने पत्तो छैन ।

कहाँ अडिने हेक्का छैन ।

कतै बाढी बनी,

ति विश्वासका बाँधहरू,

भत्काइदिने पो हुन् कि?