“मेरो आफ्नै पहिचान”

    "म किसान"

लहलहाउँदो धान मेरो प्यारो तराई फाँटमा,

हरियो भोटोसंगै रमाएको मेरो पहाड,

आलु, फापर, कोदो उब्जाउने त्यो हिमभूमि,

ढुंगेधाराको पानि पिउँदै , सालको पिपिरा बजाउँदै,

घाम र जूनसँग मित लगाउँदै,

रुखो माटोमा श्रम रोप्दै हिडेँको मान्छे म ।

काधँमा कोदाली बोकेर,

वर्षा यामको हिलोमा छुपुछुपु बिऊ रोपेर,

अभाव र विपन्नता भगाउन,

मानाको मुरी फलाउँदै,

मलिलो माटोमा सुन झुलाउँदै,

सबैलाई आत्मनिर्भर बनाउन हिँडेको मान्छे म ।

मेरा असल मित्र परिश्रमी हातपाखुरा हुन्,

जमिनले नै कर्मशिल हुन सिकाएको छ,

धाँजा फाटेका जमिनका लागि बर्खे पानि कुरीरहेको छु,

इच्छा र आकाक्षां कति कति,

आधुनिक सिँचाइ मेरो सपना, तर पनि,

दिव्य दाना जुटाएर सिङ्गो राष्ट्रलाई बचाउन हिँडेको मान्छे म ।

छिमेकको दानामा भर पर्न चाहन्न,

कसैलाई भोको देख्न सक्दिनँ,

खेल्ने रमाउने समय छैन,

गोबर, मैलो र हिलोमा लत्पतिएको छु है,

परिश्रममा मात्र विश्वास गर्छु है,

आफ्नो अस्तित्व र सम्मान खोज्दै हिँडेको मान्छे म ।

फुसको झोपडीको छानो टालिएको छैन,

बालि लगाउने भित्र्याउने कोहि छैन,

खेत बारी बाझिंदै छन्,

त्याग र समर्पण सिकेको छु,

सम्पूर्णलाई हराभरा बनाउने छु,

ति जोसिला युवालाई देश फर्काउन हिँडेको मान्छे म ।

- kopila_Dhungana