भ्या-ल्यान्टाइन्स् कहिल्यै भ्या-इएन


प्रेम,प्रणय, माया, स्नेह,वात्सल्य,मुहब्बत वाह! कती नाम छन यिनका! माघ/फाल्गुनको उराठलाग्दो शिशिर ऋतुमा नि वसन्तको आभास गराउने एउटा चाड आउँछ! उनै अघिका धेरै नाम भएकिलाई समर्पित चाड! कठै!आफ्नी प्रेमिकाका निम्ति कविता,शायर लेख्नु पर्नेमा बखत यस्तै हास्यास्पद प्रसङ्ग लेख्ने हामी जस्ता लेखकलाई चाहिँ यो चाड कागलाई बेल पाक्यो हर्ष न विस्मात हो! आउनुहोस् "भ्या-ल्यान्टाइन्स्  कहिल्यै भ्या-इएन हौ!" भन्ने मेरा सम्पूर्ण पाठकहरुलाई समर्पित केही रमाइला किस्साहरु पढौँ!


एकदिन मेरा एकजना परम सखासंग भेट भयो!पहिला उनी आफूलाई स्वाङ देखाउनै भएनि अल्फा मेल कहलाउन रुचाउने! फर्मालिटिको हाई/हेल्लो पश्चात् कुरो मोडियो उहीँ सुख्खापनको गन्थन तर्फ! "तिनी फलाना दाजुले बिहा गरेछन् हौ, बेहुलीसँगको फोटोशूट हेरेउ तिमिले पनि?",मलाई प्रश्न तेर्सियो! "अँ देखे त", सरल जवाफ फर्काँए! ती मित्र एक्कासि अम्लिन्छन् अनि भन्छन्, "मंसिर लागेसी त झ्याईँझ्याईँति दुलही बिहाएर भित्र्याउँ भित्र्याउँ लाग्न थाल्छ!" अनि दुवैजना गललल हासँछ्न्!


"ए बाबा ठाकुर! खै त्यो अल्फा मेल भनाउँदो कता हराएछ!",म मनमनै हाँसे। फेरि ती सखा थप्छन्," के हो यो उमेर हो कि के हो के हो, मनमा बेचैनी हुन्छ, कहिलेकाही त गाडिमा हिँड्दा समेत आफ्नै उमेर जस्ती देखिने देविहरु देख्ने बित्तिक्कै सबैलाई मनमनै बेहुलि लहङ्गामा कल्पना गर्दी हाल्छु!अनि पन्चै बाजा घन्किहाल्छन् कानमा अकस्मात्!" मैले फर्काएँ,"सुख्खा लागेछ! तपस तिर ध्यान देउ बाबै!",मैले गिज्याएँ!


अर्कादिन अर्का मित्र फर्मालिटी नगरी सिद्धै आतुर भएर बाङ्गो बाङ्गो मुख लाउँदै  "पेटमा हाउँगुजी आएर काउकुती(बट्टरफ्लाईनज इन  बेलि)लाग्ने रोग लागेको छ हौ मलाई त", भन्दै सुनाउछन्। कहिल्यै नसुनेको त्यस्तो रोगको कारण नसोधी सुख भएन मलाई नि। अनि फेरि "सी इज एन्जल फ्रम दी हेभेन.....!",भन्दै लजाउछन्।हिन्दी भाषामा "बावला" भन्ने शब्द यिनलाई सुहाइराको थियो! 


"कता कि अप्सरा हुन?", मैले नि चासो दिँदै सोधेँ। "कोरोनाको प्रकोप सकिएकै छैन,सबैलाई मास्क अनिवार्य छ तिमिलाई नि थाहा छँदै छ,कहिल्यै कसैको मुहार नदेखिने, एकदिन अकस्मात प्रेजेन्टेसन दिन मास्क खोलिन उनले,दैव संजोगले मेरा नयन नि उनै तिर झ्यापै परे,त्यसदिनपछि मलाई पेटमा हाउँगुजी आएर काउकुती लाउँछ उनको मुहार सम्झिने बित्तिकै!" म मुर्छा पर्ने गरि हाँसे। 

उनी अझै आफैँ मस्किराथे, त्यति भनेर उनि हिँडे सायद लाजले होला! गज्जबको कुरो के छ भने ती मित्र मसंगै एकै गाडिमा क्याम्पस आउने जाने गर्दथे तर केही दिन भा'को थियो मसँग जान छाडेका,कारण सोध्दा "मावलिमा नास्ता गर्न सजिलो हुन्छ बेलुकी" भन्दथे, आजपो बल्ल थाहा भयो मुहब्बतको हाउँगुजी आएर काउकुती लाउन थालेसि अप्सराकै खोजिमा मित्रहरु निस्कने रछन! 


एकजना परम भक्तीमार्गी मित्र! बिहान बेलुकी तपस,ध्यानमा लिन रहने,भजन किर्तनमा रमाउने!एकदिन चर्चै चर्चामा यिनै मुहब्बतका कुरा निस्किए।मुहब्बतका कुरा निस्केसी "आँट आउन्न मलाई त",उनको सोझो जवाफ। म नि के कम थिएँ,र्याखर्याख्ती पारेर सोधे एउटा केही किस्सा त होल नि तिम्रो जीवनमा मुहब्बतको भनेर। सुरुमा डग्मगाउँदै डग्मगाएनन् तर आखिरमा उजागर गर्न राजी भए!


"यस्तो विषयमा मेरो भागभोग सानैछँदा पुगिसकेको हो",मस्किँदै भन्न लागे! "नर्सरी मै हुँदा एउटि सखीको प्रेममा म लिन भाको थिएँ, स्कुल जानू अघि कपाल कोर्थे,शर्ट मिलाएर लाउँथे उनकै सामुन्ने राम्रो देखिन, एकदिन एउटा प्लास्टिकको गुलाफको फूल उनलाई दिएँ अनि आलिङ्गन गरि...",रातोपितो भ'र रोक्किए उनी! "अनि अनि!", म आतुर भ'र सोध्न लागेँ। " गालामा स्पर्श...ठैट तेरिका", नभनौँ अब भनेर गललल हासँछन्! मलाई नि काम पुगेको त्यति भएसी बेस्सरी हाँसियो। सानामा त्यस्तो चालामाला देखेसी घरका मान्छेले पक्कै उमेरमा यो रोमियो हुन्छ भन्ठानेका होलान् उनलाई तर आज बैरागि जस्ता छन् उनी। "तिमी नहुने बिरुवाको चिल्लो पात रछौ",मैले नि डाईलग पेलेँ!सानैछँदा मुहब्बत पर्दा नि यौवन बैराग्याले भरिपूर्ण हुने रहेछ भन्ने सन्देश पाएँ!


कोहि मित्र यस्ता थिए कि कहिकतैबाट मुहब्बत नपाउने, अनि मनको संतोषका निम्ति पाश्चात्य जगतकी नायिकाहरुसंग आफ्नो चिना जुधाउने अनि धेरै गुण मिलो भने आनन्दले निदाउने!कोहि मित्र महात्यागी नि भेँटे, गाडीमा दुईजना साथीसंगै घर फर्किने क्रममा कोहि सुन्दर कन्या गाडिमा चढिन् र अरु सबै सिट खाली छैनन् भने "लु तिम्रो कल्याण नै होस्" भनेर आफू सिटबाट उठेर ती कन्यालाई आफ्नो मित्रसँग बसाउन त्याग गर्ने!


कोहि मित्र क्याम्पसको बार्दलीमा बसेर घाम ताप्दा ताप्दै बाटातिर  कोहि देविलाई देख्नासाथ भित्रको शैतान जगाउँदै फूईँका फूईँ सिट्ठी बजाएर वरिपरि बस्नेलाई समेत लाजमर्दो पार्ने!कोहि मित्र अरु बखत आफुलाई घर-प्रेमी व्यक्ती भ'काले बाहिर घुम्न नरमाउने,मलाई "तिमी धेरै घुम्फिर गर्छौ त्यो ठीक हैन त्यो" भन्ने,तर मुहब्बतको जालमा फसेसी एक्कासी बढी घुमफिर गर्न थालेछन् आफ्नि प्रीयतमाका साथ,अहिले मलाई उल्टै अलिक घुम्फिरमा निस्कने गर बाबै भनेर दर्शन छट्ने गर्छ्न!


अर्का एकजना आदरणीय व्यक्ती,उहाँ आफ्नो ठिट्याउलो बखतको प्रसङ्ग सुनाउनु हुन्थ्यो! उहाँ चाहिँ ज्योतिषीय ज्ञान राख्ने अनि उहाँका अरु मित्र आफ्नी प्रेमिकासँगको चिना जुधाईमाग्न आउँदा पहिला उहाँले आफ्नै चिना जुधाउने अर्काकी प्रेमिकासँग अनि आफूसँगै राम्रो गुण मिलेको रछ भने ती मित्रलाई उनको हेर्दै नहेरि ठाडै छाडिदेउ तिनिलाई भनेर भाँडिदिने रे! अनि फेरि भाँडेर आफू पछि नि लाग्ने हुनुहुन्न र'छ, आफ्नो छैन त्यसैले अर्काको  भाँड्न मजा आउँछ भन्ने उहाँंको धारणा रछ!मैले चाहिँ त्यो सिको गरिन तर!


यस्ता अनेकन किस्सा होलान् तर बयान गरेर साध्य छैन!मलाई मनमा घत परे जति किस्साले यहाँहरुको एक्लोपनमा केही हाँसो ल्याउन सकून्!अर्को वर्ष कागलाई बेलपाक्दा विस्मत नै रह्यो भने यस्तै किस्सा लेर आउने छु, तर हर्ष रह्यो भने भन्न सकिन्न! सबैमा प्रणय दिवसको शुभकामना!