बाजेको कान चिप्लिँदा...

 

के बकिङ्गघम दरबार फिरेसी, जिउँदैछँदा स्वर्गको विचरण गरियो भन्दि हुन् त महारानिले? त्यो किसिमको तयारी भयो त लठुवा हो! भनी महेन्द्र सरकारले मुसुमुसु गर्दै ठाडो बोलिमा सोध्दा भए। एकजना भारदारले बिन्ती गरे,"खै सरकार, यसो नजर फिराँउदा त सज्सजावटले धपक्कै बालेका छ्न् कान्तिपुर नगरी"। बेलायतबाट पधार्ने शाही जोडीको भ्रमण अविस्मरणीय बनाउन केही कसर नछुटोस् भन्ने सरकारको आशय थियो। हुन त हामी नेपालीमा "अतिथी देवो भव:" जस्तो उँचो दर्शन जीनमै छ! बरु आफू फ्यात्त परेको ढिँडो निल्ने तर पाहुनाको थालमा देख्दै सक्सक परेको अनि मघमघ बास्ना आउने धानको भात पस्किनु पर्ने। हाम्रो विशेष विशेषता नै हो यो।

 

उता नारायणिका बगरमा एउटा डरलाग्दो घोर्ले बाघ समाउने दौड्धूप थियो।"सरकारले बाघको सिकार गराउने अरे त उता 'लङदङ'बाट आउने पौनालै",माउतेहरु खास्खुस गर्दै थिए।अब शाही सिकार गर्दा एउटै बाघले नि दर्शनभेट दिएन भने त साह्रै बोर होला भन्ठानेर एउटा बाघ ब्याकअप राख्नु त कौनै बात थिएन। यता दरबारको शाही भान्साघराँ नि भान्से बाजेबजैहरु निकै हल्लाखल्ला गर्दै थिए। अलि खिच्चो पारामा एउटाले "ती गोरे पहुनाहरुलाई एक छाक भएनी कोदा ढिडो चखाईदिनु पर्ने",भन्दा सबै गललल हाँसे। कोहि भने सुनका थाल मस्काउँदा नभाको बल नि लाउँदै थिए,अलिअली भए नि सुनका कणहरु मस्कोमा टाँसिन्छ कि भन्ठानेर! पाहुना सवारी हुने दिनको भोजमा विशेष जंगली बँदेलको तास, सिस्नुको पातलो सूप अनि स्पेसल अर्डर गरिएको भक्तपुरे जूजू धौ जस्ता परिकार राख्ने विचार र'छ । अनि भारतको काश्मिरबाट केसर अनि जयपुरबाट दानेदार देसि घिउ नि मगाईएको र'छ भोज विषेशका निम्ति।

 

शाही पाहुना पधार्ने दिन लावालस्कर लाग्यो सबैको विमानस्थल वरिपरि। ध्वजापताका, स्वागत गेट, नानाथरिका फूलहरुले सुसज्जित थियो विमानस्थल नि। सबैजनाको उपस्थिति भैसक्दा शाही पाहुना बोकेको जहाज ल्याण्ड भयो। सबैजना बेलायतका महाराजको अनुहार हेर्न आतुर तर कठै! पहिला त महारानी पो निस्किन् जहाजबाट अनि पछिपछी महाराज। त्यति मात्र का हो र, हाम्रा महेन्द्र सरकारले नि सुरुमा महारानिसँगै हात मिलाउँदा भए अनि बल्ल महाराजसँग! बाजागाजा, तोप सलामी, अबिर जात्रा सहित सभ्य अनि भब्य स्वागत भयो। पछि शाही बग्गिमा नि हाम्रा सरकारसँग उनै महारानि बसेर दरबारसम्म गइन्।कोहि जन्मिदा "जोत्ने कि पोत्ने" भनेर सोध्दा "जोत्ने" सुन्दा दङ्ग पर्ने सबै शाही पाहुनाको अनौठो चालचलन देखेर तीन छक्कै परेनन् त!

 

कठै त्यस बखत कसलाई थाहा थियो र बेलायतमा कार्यकारी राष्ट्रध्यक्ष महारानि एलिजाबेथ थिइन् अनि उनका श्रीमान फिलिप्स "महाराजा" होइन,"महारानीका श्रीमान" मात्रै थिए।त्यसै रातको भोजका निम्ति विशेष मार्फाको स्वाउको वाईनमा छुस्स काश्मिरी केसरको ढुटो छुस्कार कृष्ट्लकै चम्चम टल्कने बोतलमा ठीक पारिएको थियो। हाम्रा सरकारले दुइटा कृष्ट्लका बुट्टेदार गिलासमा बराबर पस्के अनि फेरि तिनै महारानिलाई एउटा गिलास अफर गरि दुवैले "चियर्स" गरि भोजको उद्घाटन गरे।  

 

त्यसरी नै बाँकी दिनहरुमा पनि उनै महारानी पो हरेक कार्जेक्रममा अग्रसर भ'र डिलिङ्ग गर्दी भइन् त गाँठे। ती महाराज त चुपो लागेर फर्मालिटी मात्र पूरा गरेझै बसे। बुझ्नेले त बुझिहाले तर सोझा जनमानसमा त ठूलो खुल्दुली अनि टाउको दुखाई भयो। चार दिनपछि शाही जोडी गदगद हुँदै फिर्ता भए। एकजना भान्से बाजेले यो सब सुनेछन् अनि बडो खुल्दुली भर एकजना भारदारसँग टाउको कनाँउदै सोध्ने चेष्टा गरेछन,"हैन ती महारानिसँग पधार्ने  बेलायतका महाराजा नै होइनन? कि को हुन्? त्यस्तो चुप लागेर बसिरहने, एउटा माखो नमारी गए रे त, सबै कामकार्यबाही, बातचित त उनै महारानिले गरिन रे त"! अब ती भारदारले सत्य कुरो थाहा भएनी बुढा बाजेलाई बुझाउने आँट गरेनन्,बरु मुसुमुसु हाँसेर,"उनी महाराजा होइनन् 'दी ड्यूक अफ लण्डन' हुन्" भनेर टाप कसे(ड्यूक भनेको कुनै राज्यको राष्ट्रध्यक्ष पछिको सर्वोच्च ओहदा हो)। अब बुढाबाजेका बाक्ला कानले 'दी ड्यूक अफ लण्डनलाई' त 'डुकुलंठ्याङ्ग' सुनेछ्न्। अब त के थियो र! बुढा बाजेले काम नगर्ने जति सबैलाई डुकुलंठ्याङ्ग...डुकुलंठ्याङ्ग भन्दै गाली गर्न थालेछ्न् पो! अहिलेसम्म त्यही परम्परा हामिले मान्दै, अल्छी,केही काम फत्ते नगर्ने अनि फगतमा टाइम कटनी गर्नेलाई 'डुकुलंठ्याङ्ग' भनी सटाइरिकल सम्मान गर्छौ!