उफ्! शहजादी...
-
- 1 Share
- 1474 Views
झम्झम्ती अक्काशबाट पानी परिरहेसी,खै यो मोरो मन फुरुङ्ग भएर किन हो, बिछट्टै तरङ्गहरुको बाढिमा चुर्लुम्मै डुबिजाने!यो मौसम नै अहो कस्तो! अतितको बाकस खोतल्खातल पारेर ती सारा तीतामीठा सम्झना-बिर्सना ब्यूँताइदिने।अझ ती चिसा अनि मसिना बाछिटाले जब अनुहारमा स्पर्श गर्छ्न नि,बास! आङ त्यसै जुर्मुरिन्छ,कता कताबाट ती तुल्बुले अनि चुल्बुले छविहरु यी नयनअगाडि बेस्कन दौडिन्छ्न्! खै केले हो छुमन्तर चलाइदिन्छ कुन्नि, मलाई मस्किन अनि झस्किन बाध्य बनाँछ!जसरी एउटा बच्चो मुठ्ठी बनाई बनाई इत्रिदैँ उफ्रिन्छ,त्यसरी नै म नि फुर्किन्छु।वर्षा लागेसी त्यहि वर्षा कै याद दिलाउँछ! ए वर्षारानी! सुनन नढाँटी भन्देउ त,तिमी कस्ति हौ? यस्ता विशेष उपहार मलाई मात्र बाँड्ने गर्छौ कि अरु मनुख्खेलाई नि!
जमानामा पहाडकी रानी दार्जिलिङमा मेरो स्कूल! त्यहाँ पढ्दा जान्ने बुझ्ने भनाउँदोमा गन्दथे मलाई। तर के जान्ने, के बुझ्ने, तिनै गन्नेहरुलाई थाहा होला। हाई स्कुल सकेर नेपाल फिर्ने दिन आउँदा अति खुसी भइयो,होस्टेलको बसाई अनि घुँडा धसेर पढ्दा पढ्दा दिक्क जो भइएको थिइयो। घर पुगेसी मन दङ्ग अनि तन हलुँगो भो! होस्टेल बसेर यस्तो रुख्खिइँदो र'छ, साता\दश दिन त मनपर्ने मनपर्ने मेवा मिष्ठान्न खाँदै बित्ने! तर अलि दिन भएसि त उही साथीभाई, रामरौस, रमाईलोकै सम्झना आउने। तर अब हाई स्कुल सकेसी अन्यत्रै भर्ना लिनु पर्ने जो थियो।
मुमाले एकदिन जुलेपी बनाइदिसेछ, असारको झरीमा तात्तातो मघमघ बास्ना चल्ने जुलेपी भेट्दा के खोज्नु र!झ्याल नजिकै कुर्सी लगेर बसेँ। अलि लोभी पाराले पहिलो जुलेपी खाँए, त्यो केसरी स्वादको गुलियो चास्नी सररररर मुखमा घुल्मिल भयो, वाह! त्यो आनन्द बेग्लै। अर्कोलाई हातमा लिएर वरपर,परवर सबतिर नजर घुमाएँ "राज बङ्ग्लो"को सेरोफेरोमा त नौला नौला अनुहार देखेँ।सायद नयाँ परीवारको सवारी भार'छ भन्ठाने। सारै कावा भइएछ कि, छिन् को छिनमा पाँचवटा चैट। अन्तिम एउटा ओठमा पुग्नै लाग्या थियो।
उफ!! राज बङ्ग्लोको माथिल्लो बालकनिमा, बाबा रे बाबा! हैन के चाहिँ हो! तिलस्मी बिल्कुलै तिलस्मी!दिव्यदेह भनाँउदा मेनाका,उर्वशी एकछेउ नि नपर्लान्! होस् हवास केही रहेन! कुनै अलौकिक छ्टा हुनुपर्छ पक्का!लौ हराईहालो! एक्छिन त बस्या भा हुन्थेन? अब त्यो जुलेपी कस्ले खाओस्? त्यो अघिको मीठो बास्ना अनि मुखै रसाउने चास्नी बिल्कुल बिल्कुलै खल्लो त्यस्को अघि, हैन सबै खल्लो, मन नै खल्लो तन नै खल्लो सारा सम्सार खल्लो!एउटा हेराईमा नै कस्तो नशा लाग्या! एक थोपो मधु जिब्राँ नपरेको ज्यानलाई आज नशा चढ्यो खै केले यस्तो लट्ठ,मद्मस्त बनायो।
लर्बरिँदै मुमा भाठाँ गर सोध्दा दरबार नजिकको कोहि सिफ्ट भार'छ्न्! "सानु, भरे रात्रीभोजको निम्तो छ त्यहाँबाट",मुमाले भन्नुभो। म त कोठाँ आएर बसेँ सब नवनारी गलेर आयो, आजै साक्षात्कार हुने रैछ त्यो छ्टासंग...दङ्ग परेर पलङ्गमा लढिरहे। बेलुकी हाम्रो नि सवारी भो भोजमा। छ्पन्न के चौरासी व्यञ्जन थियो तर मेरो मन अर्थोक मै। लौ सरासर हामी भाठाँ आएर मुमा अनि बुवासँग नमस्कारपाती चढाउन लागिन्, म मोरो चाहिँ लठेब्रो जस्तो निच्च दाँत देखार हेरेको हेरै! लौ म त त्यहाँ थिइन झै गरेर हिडिन् त! कमसेकम मेरो मुस्कानको बदलामा एउटा सानो मुस्कान दिँदा के जान्थ्यो छ्या!
दर्शनभेट त भयो कमसेकम भनी चित्त बुझाउँदै घर फिरियो। पलङ्गमा लडेर त्यही छविसँगको मूलाकात झल्झल्ती आयो। मेरा लागि त कुनै शहजादी भन्दा एक रति नि कम होइनन्! उनी रजनीगन्धाको अत्तरको मन्दमन्द खुश्बु छर्दै, ती उनका बाटुला,चम्किला नयनले लाग्छ मोहनी विद्या सिद्ध गरेर वशमा पार्न खप्पिस भका छ्न् कि!हैन ती दाँतका पङ्गती के भनूँ अनारदानाझै हैन अझ मोतिका दानाझै सपक्क मिल्या! त्यो केश ,त्यो केश...शब्दहिन छु के कति बखान गरुँ आफैसँग।अब मनमा शहजादिको बास भइसकेसी निद्रादेवीको के चेष्ठा, सारा रात छर्लङ्गै भो!
त्यस्ता वर्षायाम कैयौँ आए अनि गए,कालले दिन खाँदै गयो तर मेरो मनको चोखो आशय उनको मनले कहिल्यै खान सकेन! तर अझ पनि मनको कुनै कुइँनेटोमा म, एकोहोरो....एकोहोरो...केवल एकतर्फी....भएनी त्यो पहिलो दिनझै उत्तिकै न्यानो ठाँउ राख्थे!कहिलेकाहि असाध्यै निचोरिन्थ्यो, च्यातिन्थ्यो मन! कठै मेरो प्रेम ! उनको बुझाइले कहिल्यै बुझेन वा बुझ्नैखोजेन मलाई! उफ! शहजादी तिम्रा ती कोमल हातहरु राजसी ओष्ठबाट चुमिनका लागि बनेका र'छ्न्! तर यो सब थाहा हुँदाहुँदै नि वर्षा लागेसी मन सम्झिरहुँ भन्छ त म बिर्सुँ कसोरी...शहजादी तिमी चाँदनी सगरकी, मेरो प्रेम बगरको!
Please