
प्याजले जात जोगाउँदा!
-
- 3 Share
- 319 Views
बनारसका धुरन्धर विद्वान उनी,सबैले ज्यूज्यू गर्ने उनलाई!कोइलिको समेत फुल चोर्न सक्दथे भनी उनको चतुर्याइँको बखान चल्ने सारा शहरमा। हुन त उनी चप्परचण्डाल थिए तथापी जनमानसले अलि पच्नै गाह्रो हुने गरि बढाईचढाईँ गरिदिने नि हो तर उनी त्यस्तै चाप्लु मिश्रीत वाहवाहि श्रवण गर्दा दङ्ग पर्थे!
बाबुबाजेको बिँडो थाम्दै आएका उनी सधैँ बिहान पन्चस्नान गरेर जपतप आदिबाट निवृत्त भएर विश्वनाथ महाराजको दर्शन गरि उताउतै अलि हुनेखाने घरानाँ यजमानी गरि मिठोमसिनो रसिलो खाएर पिल्टिक्क पल्टेको उदर कसिलो बनाएर सिदा लेर घर फिर्थे।कहिलेकाही यसो शास्त्रार्थ हुँदी नि भिड्न पुग्थे, उनको चतुर तर्कका आगे कसैको केही नलाग्ने,सधैं उनिनै विजयी!
जे होस् सबै तर्फबाट सन्तुष्ट थिए तर एउटै मात्र कुरोले उनको चित्त बिझाउने! धुमाधामसँगले हरिवंश पुराण लगाएसी बल्लतल्ल जन्मिएको उनको पुत्ररत्नले भक्षण गर्न नहुने कुरो भक्षण गरिदिँदा रछ्न्! मांस,मदिरा पो होकि भन्नू होला तर कठै! कहाँ त्यस्ता विद्वान बाबुका छोराले त्यस्ता कुरा खान्थे! त्यसलाई सुधार्दा अश्रुधारा बहन्छन् अनि खाएसी दुई हात परसम्मकाले त्यसको गन्ध चालपाउँछन्! अब त छर्लङ्गै भैयो कि? प्याज क्या... प्याज!
अब बिचरो ठिटो घराँ सादा "सात्विक" भनाउँदो खानपिनले वाकदिक भाको कसोगरी काँचो प्याज करक् करक् पार्दै भात खान पुगेछ साथिकहाँ गको भखत! त्यसपछि त के हो के हो! मोहनी लगाईदियो प्याजले उसलाई। बाबुको आँखा छलेर धोक्रो भरिभरी हाटबाट किनेर ल्याउने,कतै लुकाउने अनि भात खाने बेलाँ चट्ट त्यसलाई सुधारेर त्यसको तामसिक स्वादमा रमाँउदै गाँस टिप्ने! अब विदुषि बज्यै त कठै के भन्थिन त छोरोले मन लागेको कुरा त खाएको थियो।
तर बाजेले जुन दिन चाल पाए त्यसदिन देखिन् लोकलेचाहिँ त्यो कुरा चालपायो भने त सर्वस्वै हुने भो भन्दै पिरोलिएका थिए। पहिला त बेस्कन भकुर्नु भकुरेछ्न् तर कैलेसम्म त! "प्राण गए नि खान छाडिन्न" भनिदियो उसले पनि अब न त्यसलाई निमोठ्नु न के गर्नु! बल्लतल्ल पाको पुत्ररत्न,पछि खिरका लड्डु अनि शर्बत खिलाएर मोक्ष दिलाउने उहि नै त थियो!
बाजेको भान्सामा आएर जासुसी त गर्ने थिएनन् कसैले तिनको छोरो के खान्छ भनेर तर...मुखाबाट जुन गन्ध उडाँउदै दिनभर डुल्थे उनका छोरा,त्यसले गर्दा त पक्कै फेला पार्छन् भन्ने उनलाई शङ्का थियो! अब एउटै उपाय रह्यो प्याजको जात फाल्दिने! त्यसको गन्ध मेटाइदिने तर कसरी त? मगजको बेस्सरी मझाई गरेसी उनले एउटा जुक्ती निकाले!
एकदिन अरौटेलाई बजार गएर कपुरका ढिका, मलयाचली चन्दनको धुलो अनि कस्तुरी लिन पठाए। अरौटे नि छ्क्क परेको थियो होला किन यत्रा बडेमानका कपुरका ढिका झिकाए बाजेले भनेर। सब सामान जुटेसी घरको कुनै कुनामा ती कपुरका बडाबडा ढिका जोडेर गमलाको आकार दिए। अनि बारिबाट माटो झिकाएर त्यसमा सौगन्धित चन्दन अनि कस्तुरी मोलेर त्यो कपुरको गमलामा हाले!अब कतैबाट मगाइएको प्याजको बिरुवा त्यसमा रोपिदिए!छोराको जात जोगाउन जात फालिदिनु जो थियो प्याजको!
त्यसपछि दिनहुँ गङ्गाको पानी हालिदिन्थे ती बिरुवाहरुमा। कतिसम्मको जुक्ति जानेका त गाँठे! ती बिरुवा नि क्या मज्जाले फस्टाए भने!..अब बाजे ढुक्क थिए त्यसरी फलाइएको प्याज त सोह्रै आना गन्धबिहिन फल्छ अनि छोरो नि मनले रुचाउने कुरो खान पाउँछ कसैले चाल नि पाउँदैन, क्या काइदा! भनी गदगद भैरहन्थे!
अब ती बिरुवाहरु तयारी भए! प्याजका मज्जका दाना लागे भैँमा। सारै विश्वस्त थिए उनी आफ्नो जुक्तिप्रती। अब परिक्षण गर्ने दिन त आयो! अनेक मेवा मिष्ठान्न पकाउन लगाए बज्यैलाई त्यो दिन,विशेष दिन जो थियो! अनि छोरोलाई "आज भातसँग यो प्याज चाहिँ खानु अनि खाना खाएसी मभाठाँ दौडेर आएर मेरो सामुन्ने फु..... गरेर फुक्नु" भने। कति फुर्किएका कठै!
आफूले पहिला उदर कसिने गरि भोजन गर्दा भए अनि छोरोलाई पठाए भान्सातिर। आफू अनि बराम्दामा गएर गजदम्म बसे। एकछिनमा छोरो अलि हाँडी मुख लाउदै आयो अनि बालाई पुलुक्क हेरेर फु... गर्दियो! ठुँस्स परेको अनुहार लगाएर "थुक्क! यो प्याजले जात जोगाउने भरै तैँले जात जोगाउन नसक्ने भइस्!
Please