१२ बजे
-
- 0 Share
- 293 Views
ओछ्यानमा पल्टी रहेको थिए । छठपट्टिले डेरा जमायो ।
गाह्रो भयो, निसासिन थाले । अब पल्टिनु सकिन ।
के पो गर्ने होला ? यस्तो अवस्थामा मनमा नाना थरी कुराहरू खेल्न थाल्छ, त्यो मलाई ज्ञातै थियो । तै पनि मनै त हो, के पो रोक्न सक्थे र ।
सोचमा परि हाले ।
यस्तो, उस्तो, यो र त्यो के–के हो खै कुन्नि, ओहो! भएन यो त अति नै भयो ।
जुरुक्क उठे ।
मेरो ओछ्यान नजिकै झ्याल थियो । बिस्तारै खोले । आहा! कति शीतल बतास । यस्तो गर्मी मौसममा यो बतासले सुनमा सुगन्ध थपी थियो ।

लामो श्वास लिए । आनन्द, परम आनन्द ।
यसो झ्यालमा अडेस लगाएर बसे । नजरमा के पो आउँथ्यो र यो मन त बतास सँगै रमिँदै थियो । तर के हो कुन्नि... आज यो मनलाई पो के भो, किन उदास र उजाड भइरहेछ ।
यस्तो रमाइलो मौसम, त्यसमा पनि मनै छुने बतास, जो केही पनि रमाउँथे होलान् तर खै, मै पो किन यस्तो भा को होला ।
मुसुक्क मुस्कुराए मेरा यी ताल देखेर ।
यो बतासले नै मलाई मोहनी लगाएको होला, नत्र किन पो यस्तो हुन्थ्यो । मनको नयनले हेर्ने म कहाँ यी मेरा दुई नयनले हेर्ने चेष्टा गरेको मैले ।
यी मेरा झ्यालहरू त केवल श्वास लीन र बतासलाई अँगालो हल्ललाई मात्र हो ।
आवाज सुन्ने कष्ट म गर्दिन । चर्का स्वरहरू मन पर्दैन । के का हुन् भनेर छुट्टाउन पनि गाह्रो । खोल्ने र बन्द गर्ने मात्र यी मेरा झ्यालहरू । तर आज बन्द गरिन, यति मीठो बतासलाई कसले पो रोक्न चाहन्छ र ।
मेरा यी जुल्फमा लडीबुडी गर्दै आफ्नो रौनक बनाइ रहेको थियो । फेरी ओछ्यानमा गए । त्यतिकै टोलाई बसे ।
के सुरु चल्यो कुननि, थच्चकै बसे छु । मनमा कुराहरूले डेरा जमाइसकेको अवस्था हो यो । त्यसमा पनि उदास र विराट लाग्दो सोच, अरू के पो चाहिन्थ्यो त । त्यसैले त म कुन दुनियाँमा छु, म आफैलाई केही होस हुँदैन ।

एक्लै टोल्याउदै बसे ।
पुराना यादहरू एका–एक झलझली मेरा मन र मस्तिष्कमा डुबुल्की मार्दै थिए ।
कुरा त धेरै छन् तर, केलाउँदै जाँदा एउटा प्रश्नले सदैव मलाई घचघच्याई रहन्छ ।
सायद अरूलाई त्यति महत्त्वको विषय नभएता पनि मेरो लागि यो प्रश्न एउटा तगारोको रूपमा सधैँ अवरोध खडा गर्ने विषय रही आएको छ ।
यसको मूल कारण म स्वभावले अलि भावुक र आस्तिक भएर पनि होला जस्तो लाग्छ ।
यो जुनीमा मेरो सँगिनीको रूपमा चाहेर होस् या नचाहेर नमरिन्जेल यसलाई अटुट बन्धनमा बादी दियो ।
हुन पनि किन नहोस् त, यी मेरा नयनले अरू कुन रङ्गको सङ्गम हेर्न पाउने, केवल एउटै रङ्ग, त्यसैले पनि मेरो सँगिनी भएको हो कि यो कालो रङ्ग ।
रिस पनि पानी भुकलुक भुकलुक उम्लिए झैँ उम्लिँदै थियो ।
किन म नै हुनु पर्ने ।
कि मलाई नै रोजिएको हो यो औपचारिक कार्यको लागि ।
माथि पुर्लुक्क हेरे ।
यो मेरो इसारा थियो ईश्वर प्रति ।
उहाँ पनि मलाई तल तिर हेर्दै आफ्नो सिर हल्लाई रहेको होला । मेरो यसमा केही दोष छैन ।
यदि यस्तो हो भने दोष कसको हो त?
मेरो?
के मनै दोषी हु त तर, कसरी ?
दोष मेरो भइदिए म किन यस्तो जन्मिन थिए र?
किन कालो रङ्ग मेरो सँगिनी हुन्थ्यो र ।
उसो भए मलाई जन्म दिने मेरो ममता मय माता कै पो दोष थियो कि?
वहाँकै गर्वमा म हुँदा पो केही भयो कि । तर कसरी विश्वास गर्नु ।
बिचरा वहाँलाई पनि के थाहा थियो र म यस्तो जन्मिन्थे भनेर ।
लामो श्वास फेरे । यो प्रश्नले सधैँ पिरोली रहन्छ मलाई ।
आ, जो जसको कारणले गर्दा यस्तो भए पनि के त, हुनु भइसक्यो कसैलाई दोषी ठहराइदिए के पो हुने हो र ।
चमत्कार हुने हैन, यो मेरा नेत्रबाट रङ्गिन दृश्य देख्न सक्ने हैन ।
यो विषय केवल वाद-विवादको विषय मात्र बन्न जान्छ । टेबुल ठट्याउदै तेरो, मेरो, ठीक र बेठीक आदि इत्यादि ।

लामो श्वास ताने, बडो गम्बिर विचार धारामा बग्न पुगे छु । तर अझै पनि मन शान्त हुन सकेको छैन ।
हौस पनि कसरी । म मात्र त हैन यस्तो अनौपचारिक कार्यको एकल हस्ति ।
म जस्तै अरू कति होलान्, जो यही अवस्थाबाट गुजरीरहेको होला । मैले पो यो मनलाई सम्झाइ सके । तर खै के थाहा अरूले पनि मन थाप्न सक्ला भन्न म सक्दिन ।
सबैको सोच मेरो जस्तै हुँदैन । सबैले यो कुरालाई सहजता पूर्वक लीन सक्छन् जस्तो मलाई अवश्य लाग्दैन र सबैले यो कुरालाई आफ्नो मन भित्र दबाई राख्न सक्ने कुरा पनि हैन ।
उनीहरूलाई अवश्य पनि यो प्रश्नको उत्तर चाहिँ रहेको छ तर, दिने कसले र कसरी ।
मन रुँदो हो ।
पिडा असही हुँदो हो ।
दोष कसैलाई कसो नलाग्दो हो ।
उनीहरू पनि अरू सरह हेरियोस् र लिइयोस् भन्ने चाहना राख्छन् । प्रेमका भोगी उनीहरू कहिले सम्म वञ्चित हुने हो यो समाज र यहाँ बस्ने मानिसहरूबाट ।
अचम्म लाग्दो छ यो हाम्रो समाज पनि । म आस्तिक परे त्यसैले मलाई भगवान् देखेर पनि अचम्म लाग्छ । मेरो आस्थामा कहाँ कमी भयो र मैले आज यति सारो दुःख भोगी रहनु परेको छ । प्रतीक्षाको फल मीठो हुन्छ रे तर कति प्रतीक्षा गर्नु पर्ने हो । कि प्रतीक्षा गर्दा गर्दै यो जोबनै बित्ने हो ।
कसैले पनि यो मनलाई बुझ्न सकेको छैन ।
म यहाँ डाक्टरी कुरा भन्न खोजेको हैन । म भावनाका कुराहरू दुःख, सुख, माया, प्रेम, क्रोध, मोह आदि इत्यादिका कुरा गर्दै छु ।
जे जस्तो हुँदा पनि मनैमा छुने ।
चमत्कार भई दिए? अचम्मै हुन्थ्यो ।
म पनि एक झल्को यो रङ्गिन संसारलाई मेरा नेत्रहरूले हेर्ने थिए ।
आकाश नीलो हुन्छ रे?
रुख हरियो, नदी सङ्लो र रगत रातो?
म जति रङ्गहरूलाई स्मरण गर्न खोजे पनि रातोलाई रातो र नीलालाई नीलो नदेखी सधैँ एउटै रङ्ग, कालो देख्दछु ।

यो सबै सोचेर हाँसो लाग्छ तर म चाहेर पनि हाँस्न चाहन्न ।
म मेरो खिल्ली आफै उडाउन चाहन्न ।
इच्छा र चाहनाहरू मेरा पनि छन् । तर यस्तो समाजमा मेरा इच्छाहरूको के पो इज्जत हुन्थ्यो र । मैले यसो गर्छु उसो गर्छु भन्दा सबै हाँस्छन् ।
किन कि म अरू सरह परिन । मलाई केही कार्य गर्न मेरा हात र खुट्टाको सहारा चाहिन्छ । महसुसको भरमा म अनुमान लगाउने गर्छु, त्यसैले पनि होला म केही गर्ने दुस्साहस गर्दिन ।
यसको मूल कारण हो मेरो अन्धोपन ।
हेर्न नसके पछि यसले धेरै असर पार्दछ आफ्नो कार्यमा ।
धेरै कार्य गर्न वञ्चित हुने ।
त्यसैले पनि होला मेरो सोच र इच्छा प्रति अरू हाँसेका ।
तर म पनि के कम छु र ।
म मा पनि सीप भरमार छ ।
पढेको छु डिग्री छ । तर सबै भन्दा दुःख लाग्दो कुरा मेरो मूल्याङ्कन किन हुन सक्दैन ।
कि मेरो सीप र कौशलको केही मोल नै छैन ।
मेरो मूल्याङ्कन कसले र कसरी गर्ने र कुन आधारमा ।
यस्तो लाग्छ मलाई हेपेकै हो । यदि हो भने किन? र कसले अधिकार दियो मेरो खिल्ली उडाउन ।
म पनि आम मानिस सरह बाच्न चाहन्छु ।
मेरो पनि अधिकार छ ।
म मा पनि सीप छ जाँगर छ ।
अरू सरह काम गर्ने जोस छ ।
तर पनि म सधैँ वञ्चित रहन्छु यो सबै अवसरहरूबाट ।
आशा, के यस्तो पनि शब्द हुन्छ र!
हुँदो हो त्यसैले सबैले प्रयोग पनि गर्छ ।
जब सम्म श्वास छ तब सम्म आस छ रे । उसो भए श्वास रहनु जेल आस हुने रे ।
तर मेरो पनि आस, आशैमा रहने भो ।
रिस लाग्छ ।
यो आशा भन्ने शब्द अक्षरमा मात्र राम्रो देखिने ।
अहिलेको अवस्थामा एकका पट्टि आस छ अर्को पट्टि हार ।
मेरो झुकाव आसमा भन्दा हार तिर धेरै ढल्किएको अवस्था छ ।
हारलाई लगभग लगभग अङ्गाली सके ।
समाज, परिस्थिति, भाग्य र म आफै देखेर दिक्क भई सके ।
यस्तो लाग्छ मेरो जन्मै पो किन भो । यति सास्ती र दुख नै झेल्नु दियो त म मरे जाती ।
तर यो प्राण भन्ने कुरा यति सस्तो पनि त छैन ।
जन्म लिई सके, बाच्नु बाची सके, यति कै त खेरा फ्याँक्न दिन्न ।
यो समय र परिस्थिति अनुरूप मनमा उब्जेन मेरा तिता भावनाहरू हुन् ।
मेरो आत्म सम्मान भन्ने कुरा मरिसकेको अवस्था छैन ।
सिर उच्च राखी आफ्नो जीवन व्यतीत गर्दैछु ।
नमरिन्जेल सिर र आत्म सम्मान अडीकनै रहनेछ ।

ढ्याङ्ग आवाज सुने लौन!!
ध्यान दिएर सुने ।
यो त घण्टा घरको सङ्केत पो हो त मेरो लागि, यो मधुरो ध्वनि हो ।
म फेरी ध्यान दिएर सुनी बसे ढ्याङ्ग, ढ्याङ्ग आवाज गन्दै थिए १२ बजेको जानकारी मिल्यो । म सधैँ यसरी नै समयलाई स्वागत गर्ने गर्छु, नाडीमा घडीको कुनै आवश्यकता छैन ।
केवल सुइँको चाल कानले सुन्ने मात्र हो त्यसले समयको हालचाल बताउदैन ।
सम्झनाहरूको समुद्रमा डुबुल्की लगाउँदा लगाउँदै समयको कुनै चालनै पाइनँ ।
निकै अबेर भएछ । यी कुराहरूले मन कहिले शान्त हुन दिएन । र रात्रिको समयमा यसले निदरिको बाटो पनि भुलाइदिए छन् ।
आज यो निदरी कता हरायो हरायो ।
ओछ्यानमा पल्टी बसे निदरीको इन्तजारमा ।
२०६८/८/१७ (शनिवार)
Please